जोडिनुहोस
  • होमपेज
  • मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन सम्पूर्णमा अनुरोध

मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन सम्पूर्णमा अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले दशैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ ।

विभागकी मौसमविद् विनु महर्जनले भनिन्, ‘हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओरिसाबाट जमिनको भूभाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।’

उनले न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशका विभिन्न भूभाग खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताइन् । उनका अनुसार नेपालमा यस वर्षको दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम बदली भइरहेको छ ।

असोज १७ (एकादशी)मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एकदुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मनसुन सक्रिय भई वर्षा हुने सम्भावना रहेकाले यसका कारण भूक्षय, बाढी, पहिरोका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ ।

मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका