
जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको जाहेरी प्रहरीले बुझेर जाँचबुझ आयोगमा पठाएको छ। ‘भदौ २३ र २४ गतेको सम्बन्धी एउटा जाँचबुझ आयोग छ। ती दुई दिन भएका जति पनि भौतिक र मानवीय क्षतिसँग सम्बन्धित सूचना तथा निवेदनहरू हामीले जाँचबुझ आयोगको कार्यक्षेत्र पर्ने भएकाले उतै पठाएका छौं,’ एक प्रहरी अधिकृतले भने ।
तत्कालिन प्रधानमन्त्री ओली र तत्कालिन गृहमन्त्री लेखकले मानवता विरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको थियो। सोमबार नै जाहेरी लिएर पुगेकोमा सोमबार प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन। जाहेरी नलिएपछि मृतकका परिवार अबेर रातिसम्मै परिसरमा बसेका थिए। अबेर राति नै सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री सुशिला कार्कीले छलफल गरी मध्यरातिसम्म जाहेरी लिने/नलिने कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल समेत भएको थियो।

































