
नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम प्रतिनिधि छनोट भइरहेको छ। शनिबार नभ्याइएका स्थानमा आज प्रतिनिधि चयन भइरहेको हो।
एमाले केन्द्रीय कार्यालयले दिएका जानकारी अनुसार प्रतिनिधि छनोट गरेर मंसिर १५ गतेभित्र त्यसको जानकारी माथिल्लो कमिटीमा पठाइसक्नुपर्नेछ।एमालेले शनिबार नै प्रतिनिधि चयन टुंग्याउन निर्देशन दिएको थियो। तर कतिपय स्थानमा सहमतिमै जोड दिएकाले चुनावको कार्यतालिका धकेलिएको थियो। एमाले केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार ३० बढी जिल्लामा निर्वाचन भएको छ। कतिपय जिल्लाका कुनै निर्वाचन क्षेत्रमा सहमतिमै प्रतिनिधि चयन टुंगिएको थियो भने कतिपय निर्वाचन क्षेत्रमा निर्वाचन भएको छ।
प्रतिनिधि चयन भएका केही ठाउँमा रोचक नतिजा पनि भएका छन्।
ओलीको राजीनामा माग्ने बौद्धिक परिषद अध्यक्ष प्रतिनिधिमा पराजित:
बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले जेनजी आन्दोलनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका थिए। उनले पत्र नै पठाएर तत्काल महाधिवेशन सम्भव नभएकाले केन्द्रीय कमिटीबाटै पद हस्तान्तरण गर्न भनेका थिए।
तिनै थपलिया महाधिवेशन प्रतिनिधि नै जित्न सकेनन्। पछिल्लो समय उनी ईश्वर पोखरेलतिर खुलेका थिए। परिषद्का महिला उपाध्यक्ष राधा अधिकारी र महासचिव दिपेन्द्र श्रेष्ठ पनि प्रतिनिधि पराजित भएका छन्।
मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल पनि प्रतिनिधि छानिन सकेनन्। पोखरेल नेकपा (एकीकृत समाजवादी) गएर पनि फर्किएपछि जिल्ला अध्यक्ष निर्वाचित भएका थिए। मकवानपुर–१ बाट प्रतिनिधित्व गर्ने उनी ईश्वर पोखरेल खेमामा लागेका थिए। उनी महाधिवेशन प्रतिनिधि चुनिन सकेनन्।
सिन्धुपाल्चोक जिल्लाका उपाध्यक्ष अर्जुन भण्डारी पनि प्रतिनिधि छानिन सकेनन्। सिन्धुपाल्चोक–२ मा उनले युवा क्लस्टरबाट उम्मेदवारी हालेका थिए। सिन्धुपाल्चोक–२ मा युवा क्लस्टबाट हिरा चौलागाईं निर्वाचित भए।
आधा प्रतिनिधि पनि आएनन् भोट हाल्न
एमालेमा प्रतिनिधि चयनका लागि ३० भन्दा बढी र सयभन्दा बढी निर्वाचन क्षेत्रमा चुनाव भएको थियो। तर औसतभन्दा निकै कम मत खस्यो।
लम्जुङकै उदाहरण हेरौं न।
त्यहाँ ५४ सयभन्दा बढी मतदाता रहेकामा १९ मत खस्न पनि कठिन भएको थियो। विशेष प्रदेश अन्तर्गतको उद्योग, व्यवसाय जिल्ला कमिटीमा १४ सयभन्दा बढी मतदाता रहेकामा २०० पनि मत खसेन। पेशागत जिल्ला कमिटीमा पनि ३६०० मतदातामा ६०० हाराहारी मात्रै मत खसेको थियो। एउटा निर्वाचन क्षेत्र भएका जिल्ला मात्र नभइ काठमाडौं जिल्लामै मत कम खसेको उदाहरण छ। काठमाडौं–३ मा १६०० बढी मतदाता रहेकामा करिब ७०० मत खसेको थियो।
सांसद र उपमेयर पनि हारे महाधिवेशन प्रतिनिधि चुनाव
एमाले लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरे महाधिवेशन प्रतिनिधि पराजित भए। अर्घाघाँची जिल्लबाट प्रतिनिधिका लागि उम्मेदवार बनेका थिए। तर विजयी हुन सकेनन्। त्यस्तै कर्णाली प्रदेश सांसद तुलशा मल्ल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित हुन सकिनन्। रूकुमपश्चिमबाट मल्ल उम्मेदवार बनेकी थिइन्। तर निर्वाचित हुन सकिनन् र धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकलाकुमारी राना पनि पराजित भइन्।





























