अन्तर्राष्ट्रिय
मल्लिकार्जुन ज्योतिर्लिङ्ग क्षेत्र श्री शैलममा ऐतिहासिक चेंचु संक्रान्ति महोत्सव २०२६ सम्पन्न

आन्ध्र प्रदेशस्थित भगवान शिवका द्वादश ज्योतिर्लिङ्गमध्ये एक पवित्र मल्लिकार्जुन ज्योतिर्लिङ्ग क्षेत्र, श्री शैलममा सम्पन्न चेंचु संक्रान्ति महोत्सव २०२६ धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय एकताको दृष्टिले अत्यन्तै ऐतिहासिक र स्मरणीय बनेको छ। सनातन परम्परा, आदिवासी संस्कृति र आध्यात्मिक चेतनाको अद्भुत संगम बनेको यस महोत्सवमा भारत र नेपालसहित विभिन्न क्षेत्रका महान सन्त–महापुरुष, धर्मगुरु, महामण्डलेश्वर, राजनीतिक नेतृत्व, सामाजिक अभियन्ता तथा चेंचु जनजातिका शीर्ष नेतृत्वकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस ऐतिहासिक अवसरमा विश्व आध्यात्मिक दूत (World Spiritual Ambassador) तथा प्रतिष्ठित आध्यात्मिक–सांस्कृतिक व्यक्तित्व प्रदीप खनाललाई एक वर्षको अवधिमा ४५० भन्दा बढी तीर्थस्थलहरूको यात्रा सफलतापूर्वक सम्पन्न गरेको असाधारण उपलब्धिका लागि समग्र साधु–सन्त, जनजातीय नेतृत्व र धार्मिक समुदायको तर्फबाट विशेष अभिनन्दन समेत गरेको थियो ।
कार्यक्रममा उपस्थित विद्वान सन्त तथा धर्मगुरुहरूले यस तीर्थयात्रालाई जगतगुरु आदि शंकराचार्य र सिख धर्मका संस्थापक गुरु नानक देव जीपछि आधुनिक कालमा विश्वमै पहिलो पटक यति व्यापक रूपमा सम्पन्न भएको आध्यात्मिक यात्राको रूपमा वर्णन गरे।
वक्ताहरूका अनुसार, आदि शंकराचार्यले अद्वैत वेदान्तको प्रचारका लागि भारतभर पदयात्रा गर्नुभएको थियो भने गुरु नानक देव जीले मानव एकता र भक्ति चेतनाको सन्देश फैलाउन दीर्घ यात्राहरू गर्नुभएको थियो। ती ऐतिहासिक यात्रापछि आजको युगमा प्रदीप खनालद्वारा सम्पन्न तीर्थयात्रा सनातन धर्मको पुनर्जागरण र विश्व मानवताको सेतुका रूपमा स्थापित भएको धारणा समेत व्यक्त गरे ।
चेंचु संक्रान्ति महोत्सव २०२६ मा निम्न महान विभूति तथा विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियोः
जगतगुरु शंकराचार्य स्वामी अधोक्षजानन्द देवतीर्थ जी महाराज, पीठाधीश्वर – गोवर्धन पीठ
जगतगुरु कल्कि भगवान
महामण्डलेश्वर डा. स्वामी प्रकाशानन्द, ऋषिकेश
स्वामी अद्वैतानन्द गिरि, गंगोत्री धाम
महामण्डलेश्वर नीलिमा माता जी, उज्जैन
स्वामी सी. रामसुब्बा रेड्डी
शिवानन्द दत्त सरस्वती
उदयानन्द स्वामी, करीमनगर
यी सबै सन्त–महापुरुषहरूले धर्म, अध्यात्म, सनातन संस्कृतिको संरक्षण, प्रकृति र मानव जीवनबीचको सम्बन्ध तथा सामाजिक सद्भावका विषयमा महत्वपूर्ण प्रवचन दिएका थिए ।
विशेष आशीर्वाद र ऐतिहासिक घोषणा
कार्यक्रमको मुख्य आकर्षणका रूपमा जगतगुरु शंकराचार्य स्वामी अधोक्षजानन्द देवतीर्थ जी महाराज, जगतगुरु कल्कि भगवान तथा अन्य महामण्डलेश्वर गुरुवर्यहरूले प्रदीप खनाललाई विशेष आशीर्वाद व्यक्त गरे ।
आशीर्वाद प्रदान गर्दै जगतगुरु शंकराचार्यले भने: “प्रदीप खनालले सनातन धर्मको प्रचार, तीर्थसंस्कृतिको संरक्षण र मानव एकताको लागि गरेको कार्य युगौँसम्म इतिहासमा स्मरणीय रहनेछ।”
जगतगुरु कल्कि भगवान तथा अन्य महामण्डलेश्वरहरूले पनि खनालको कार्यलाई सनातन धर्ममा नयाँ युगको आरम्भ गराउने आध्यात्मिक अभियानको संज्ञा दिँदै भविष्यमा यसले विश्वस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
चेंचु जनजाति र सनातन परम्पराको गौरव
चेंचु संक्रान्ति महोत्सव विशेष रूपमा चेंचु जनजातिको सांस्कृतिक पहिचान, परम्परा र सनातन धर्मसँगको ऐतिहासिक सम्बन्धलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको थियो। चेंचु समुदायलाई श्रीशैलम क्षेत्रका प्राचीन रक्षक तथा भगवान मल्लिकार्जुनका आदिवासी भक्तका रूपमा मानिन्छ।
कार्यक्रममा चेंचु जनजातिका नेतृत्वकर्ताहरूले प्रदीप खनालको तीर्थयात्रालाई जनजाति–मुख्यधार एकता, सांस्कृतिक सम्मान र आध्यात्मिक पुनर्जागरणको प्रतीकको रूपमा प्रशंसा गर्दै सम्मान अर्पण गरे।
अन्ततः चेंचु संक्रान्ति महोत्सव २०२६ केवल धार्मिक पर्वमा सीमित नभई सनातन धर्मको पुनर्जागरण, जनजातीय सम्मान, राजनीतिक–आध्यात्मिक संवाद र अन्तर्राष्ट्रिय मित्रताको ऐतिहासिक मञ्चका रूपमा स्थापित हुन सफल भयो।
मल्लिकार्जुन ज्योतिर्लिङ्ग क्षेत्र श्रीशैलमबाट प्रवाहित भएको यो आध्यात्मिक सन्देशले विश्वभर शान्ति, सद्भाव र मानवीय एकताको उज्यालो फैलाउने दृढ विश्वास व्यक्त गरिएको छ।








































