
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् ।
‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु । बोल्ने तरिका, काम गर्ने तरिका फरक छ, सबैकुरा । म प्राय: सबैसँग मिल्दैन,’ पुनले भने, ‘म आउनै नपर्ने मान्छे कसरी यो ठाउँमा आइपुगे भन्न चाहन्छु ।’
म अमेरिका पढेर २०४९ भदौमा आएको उनले बताए । त्यसपछिका ३३ वर्ष एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा समय काटिरहेको बताउँदै उनले भने, ‘म समाजसेवी हुँ, समाजसेवी नै रहनेछु ।’
सदनमा आफ्नो भूमिकाबारे उनले अगाडि भने, ‘मेरो भूमिका पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ ।’
समाजसेवी भएकाले प्रतिनिधिसभाको उम्मेदवार हुने रहर पनि नभएको र सोचेको पनि नभएको बताए । ‘जेनजी आन्दोलनपछि जेनजी भाइहरूले ताप्लेजुङमा किताब बेचिरहेको बेला बोलाएर शिक्षा मन्त्री बनाए,’ उनले भने ।
त्यसपछि चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिककरण विकृति देखेको उनले बताए ।




































