जोडिनुहोस
  • होमपेज
  • गीता मैत्री मिलन कार्यक्रम बैशाख २७ गते आइतबार काठमाडौंमा आयोजना हुने

गीता मैत्री मिलन कार्यक्रम बैशाख २७ गते आइतबार काठमाडौंमा आयोजना हुने

नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण गर्दै सुसंस्कृत एवं समुन्नत राष्ट्र निर्माण गर्ने पवित्र उद्देश्यका साथ गीता परिवार नेपालले यही वैशाख २७ गते आइतबार काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम आयोजना गर्न गइरहेको छ। ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेदेखि उक्त विशेष समारोहको सञ्चालन गर्नेछ। कार्यक्रममा गीता परिवारका संस्थापक एवं श्रीराम जन्मभूमि तीर्थ क्षेत्र न्यास, अयोध्याका कोषाध्यक्ष स्वामी गोविन्ददेव गिरि जी महाराजको पावन सान्निध्य रहने छ भने करिब १ हजार ३ सय सहभागीको उपस्थिति रहने अनुमान गरिएको गीता परिवार नेपालकी अध्यक्ष सारिका अग्रवालले बताउनु भयो ।

२०७७ साल मङ्सिर ३ गते पाण्डव पञ्चमीका दिन कोरोनाकालको विषम परिस्थितिमा ५ जना सेविकाहरूबाट प्रारम्भ भएको यो अभियानले ६ वर्षको छोटो अवधिमै करिब ५ सय स्वयंसेवी र १५ हजारबढी सदस्यहरूलाई आबद्ध गराउन सफल भएको छ। हाल गीता परिवार नेपाल ‘प्रथम अन्तर्राष्ट्रिय शाखा’ का रूपमा चयन हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय बनेको यसका संस्थापक अध्यक्ष तथा गीता मैत्री मिलन कार्यक्रमको मूल समारोह समिति अध्यक्ष जय किसन सारडाले जानकारी दिनु भयो ।

hhhh

यो संस्थाले बाल संस्कार वर्गमार्फत बालबालिकाहरूमा नैतिक मूल्यहरूको बीजारोपण गर्ने, अनलाइन तथा अफलाइन माध्यमबाट निःशुल्क गीता प्रशिक्षण दिने र डिजिटल माध्यमको प्रयोग गरी गीताका श्लोकहरू सिकाउने जस्ता मुख्य गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

दैनिक १ सयबढी जुम कक्षाहरूमार्फत गीताका श्लोकहरूको उच्चारण अभ्यासका साथै साप्ताहिक र दैनिक पारायण, विष्णुसहस्रनाम र रामरक्षा स्तोत्रजस्ता आध्यात्मिक गतिविधिहरू बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म सञ्चालन हुने गरेका छन्। भगवद्भक्ति, श्रीमद्भगवद्गीता, मातृभूमि, विज्ञाननिष्ठा र स्वामी विवेकानन्दको आदर्शलाई आत्मसात गर्दै सनातन समाजको विकास गर्ने यस संस्थाको मुख्य लक्ष्य रहेको छ।
भौगोलिक विकटता र प्राविधिक चुनौतीका बाबजुद गाउँ, बस्ती र नगरहरूमा गीता चेतना विस्तार गर्न आयोजना हुन लागेको यस गीता मैत्री मिलन कार्यक्रममा सहभागी भई आध्यात्मिक जागरणको अभियानलाई सफल पारिदिन अनुरोध गरिएको छ ।

यो कार्यक्रमको तयारीको जानकारी दिन शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा गीता परिवारका सचिव रामप्रसाद अधिकारीले यो संस्थाको स्थापना र स्थापनापछि गरिएका कृयाकलापको जानकारी दिनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका