जोडिनुहोस
  • होमपेज
  • वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्।

माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताएका हुन्।

पहाडी क्षेत्रमा पहिरो र तराई तथा शहरी क्षेत्रमा बाढी र डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित बस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बाढीपहिरो, डुबान, भूकम्पलगायत विपद्बाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र बस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताए।

त्यसका लागि पार्टीको विपद् व्यवस्थापन विभागको पहलमा विज्ञहरूले तयार पारेको प्रतिवेदन महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले यसका आधारमा सरकारसमक्ष ज्ञापनपत्र पेस गरिने बताए।

वैज्ञानिक बस्ती विकास र पूर्वाधार निर्माणसँगै विपद् व्यवस्थापनका लागि पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उनले बताए। मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उनले बताए।

अध्यक्ष दाहालले उद्धारमात्र होइन, राहत र पुनःस्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरू कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताए।

माओवादी केन्द्रका विपद् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदीले बाढीपहिरो प्रभावित क्षेत्रमा विज्ञहरूसहितको टोलीले गरेको अध्ययन, समस्याको पहिचान र समाधानका उपाय प्रतिवेदनमा समेटिएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका