जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले युक्रेनलाई बारुदी सुरूङ उपलब्ध गराउने

अमेरिकाले युक्रेनलाई बारुदी सुरूङ उपलब्ध गराउने

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन्। किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन्।

युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो। रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये चारवटालाई रुसी प्रतिरक्षा प्रणालीले निस्तेज पारेको रुसले जनाएको छ।

बाइडनले गत सातामात्रै युक्रेनलाई दिएका लामो दूरीका क्षेप्यास्त्र रुसमा प्रहार गर्ने अनुमति दिएका थिए। बाइडेन प्रशासनले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको हो। अमेरिकामा निर्मित एटीएसीएमएस करिब ३ सय किलोमिटरको दूरीमा मार हान्न सक्ने क्षमताका हुन्। एटीएसीएमएससँगै अमेरिकाले युक्रेनलाई लकहीड मार्टिन बलिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराएको छ।

त्यसअघि अमेरिकाले त्यस्ता क्षेप्यास्त्र युक्रेनी क्षेत्रमा मात्र प्रयोग गर्नुपर्ने बताउँदै आएको थियो। राष्ट्रपति बाइडेनले रुस–युक्रेन युद्ध थप चर्कने भन्दै युक्रेनलाई त्यस्ता अस्त्र प्रयोगको अनुमति दिन अस्विकार गर्दै आएका थिए। तर सत्तामा रहने समय करिब दुई महिना मात्र बाँकी रहेको अवस्थामा बाइडेनले आफ्नो पूर्ववत् नीति परिवर्तन गर्दै हतियार प्रयोगको अनुमति दिएका हुन्।

आगामी जनवरीमा सत्ताबाट बाहिरिन लागेका बाइडनका पछिल्ला निर्णयले रुस–युक्रेन युद्ध थप चर्कने देखिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले दिएका हतियार प्रयोगलाई युक्रेन युद्धमा उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) को संलग्नताकै रूपमा हेर्ने बताएका थिए।

आधुनिक युद्धपोत र लडाकु विमानहरू युक्रेनलाई उपलब्ध गराउने कुरालाई रुस र नेटोबीचको युद्धका रूपमा हेर्ने चेतावनी दिँदै आएको छ। यसअघि पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीका हतियार प्रयोग गर्न अनुमति दिएको खण्डमा रुसले परमाणु हतियार प्रयोग गर्ने चेतावनी समेत दिएका थिए।

आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले भने युक्रेनलाई दिँदै आएको सैन्य लगायतका सहयोग रोक्ने बताउँदै आएका छन्। उनले आफ्नो चुनावी अभियानका क्रममा रुस–युक्रेन युद्ध २४ घण्टाभित्र रोक्ने बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका