अन्तर्राष्ट्रिय
गौतम अडानीमाथिको घुसखोरी अभियोगमा बहस गर्ने–नगर्ने विषयमा भारतीय संसद्मा विवाद

काठमाडौं। भारतमा आजदेखि शुरु भएको संसदको हिउँदे सत्र प्रधानमन्त्री नरेन्द्र मोदीनिकट अर्बपति व्यवसायी गौतम अडानीमाथिको घुसखोरी अभियोगमा बहस गर्ने–नगर्ने विषयमा विवाद बढेपछि एक घण्टा पनि नचली स्थगित भएको छ ।
माथिल्लो सदन राज्यसभाका अध्यक्ष तथा उपराष्ट्रपति जगदीप धनखडले अडानी मामिलामा छलफलका लागि आफूले १३ वटा सूचना पाए पनि नियम संगत नभएकाले छलफल अगाडि नबढाउने बताउनु भएको थियो । लगत्तै विपक्षी इण्डिया गठबन्धनका नेता तथा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले सो विषयमा छलफल गराउन माग गर्नु भएको थियो । तर अध्यक्ष धनगढले सो विषयमा बोल्न नदिने बताएपछि केही सांसदहरुले विरोधमा नाराबाजी गरेका थिए । त्यसपछि अध्यक्ष धनखडले शुरुमा केही समयका लागि र पछि गएर पर्सी पुनः बस्ने गरी सदन स्थगित गर्नुभएको थियो ।
उता संसदको तल्लो सदन लोकसभामा पनि यस्तै विवाद भएपछि सभामुखले सदन स्थगित भएको घोषणा गर्नुभएको थियो । दुवै सदनको बैठक अब बुधवार बस्नेछ । भारतमा विपक्षी दलहरुले धेरै अघिदेखि नै मोदी सरकारमाथि अडानी र उनको व्यवसायलाई संरक्षण राखेको आरोप लगाउँदै आएका छन् ।
गत साता अमेरिकाको न्युयोर्कमा अडानी र उनका भतिजा सागर अडानी सहितका सात जनामाथि सौर्य उर्जा परियोजना निर्माणको ठेक्का हात पार्न सरकारी अधिकारीहरुलाई साढे २६करोड अमेरिकी डलर घुस दिन सहमति जनाएको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । अडानीमाथि लगाइएको उक्त आरोपको विषयमा भारत सरकारले केही टिप्पणी गरेको छैन भने भाजपाले भने यसको सामना र प्रतिरक्षा गर्ने काम अडानी समूहको भएको जनाएको छ ।
संघीय अभियोजकहरुले अडानी र उनका भतिजा सागरविरुद्ध अरेष्ट वारन्ट जारी गरिसकेका छन् भने अमेरिकी धितोपत्र तथा विनिमय आयोगले पनि २१ दिने सम्मन जारी गरिसकेको छ । अडानीविरुद्ध मुद्दा परेपछि उनका कम्पनीका शेयरमूल्यमा भारी गिरावट आएको छ भने शेयरको बजार मूल्य अरबौं डलर घटेको रोयटर्सले उल्लेख गरेको छ।





































