जोडिनुहोस

समाज

झाडी फाँडेर सुन्तला बगान

  • Avatar of Sanchar NP
    Sanchar NP
  • आइतवार, असार २१, २०८३
झाडी फाँडेर सुन्तला बगान

म्याग्दी। कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका व्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैँचा बनाउने सोच आयो ।

बेनीमा पोल्ट्रि र घरजग्गा व्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।

‘बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,’ उनले भने ‘काम गर्दा गर्दै सुन्तला बगैँचा पो भयो ।’

रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट सुन्तलाले मलजल, स्याहार सुसार पाएपछि उत्पादन दिन थालेका छन् । थप सात बिरुवा बगानमा हुर्किरहेका छन् ।

पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिद सहित फार्ममा रु। तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताए।

‘यसपाली १५ लाखको सुन्तला बिक्री भयो,’ उनले भने ‘कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुँदो रहेछ भन्ने मैले महशुस र अनुभव गरे । थप चार रोपनीको बगैँचा किनेर फार्म विस्तार गरेको छु ।’

दिवंगत हजुरबुवा सुर्यनारायण श्रेष्ठको जीवनबाट प्रभावित भएर कृषि व्यवसायमा जोडिएको विकासले बताए। उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ ।

सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए। काठमाडौँको बल्खुका व्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए।

घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ कृषकहरूका लागि उदाहरणको पात्र बनेका छन् ।

दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती शुरु गरेपछि गाउँ छाडेर गएकाहरू फर्किएर सुन्तला खेती गर्न थालेका बताए।

‘विकासले बाँझीएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,’ पाइजाले भने ‘गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याएका छन् । उनको सिको गरेर बजार झरेकाहरू गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।’

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरू बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए। विकासको सुन्तला बगैँचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा व्यवसायीहरू आउने गरेका छन् । उक्त बगैँचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैँचाको बिच भागमा पाहुना र आफू बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ ।

समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताए ।

गत वर्ष ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली रु। एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका