जोडिनुहोस
  • होमपेज
  • एन्फा महिला लिगः पुलिससँग संकटा पराजित, पहिलो चरणको खेल सकियो

एन्फा महिला लिगः पुलिससँग संकटा पराजित, पहिलो चरणको खेल सकियो

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रवार संकटा क्लबमाथि जित निकालेसँगै एन्फा महिला लिगको पहिलो चरणका खेल समाप्त भएका छन् ।

एन्फा कम्प्लेक्समा लिगको पहिलो चरणको अन्तिम खेलमा पुलिस र संकटाले प्रतिस्पर्धा गरेका थिए । जहाँ विभागीय टोली पुलिसले संकटा क्लबमाथि २–१ को जित निकाल्दै लिगमा छैटौँ जित निकालेको हो ।

पुलिसको जितमा अनुष्का शेर्पा र समीक्षा शेर्पाले गोल गरिन् । संकटाकी सेलिना एनिमाले गोल फर्काएकी थिइन् । लिगमा यसअघि नै शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने टोलीको टुङ्गो लागिसकेको थियो । तर दुवै टोली पहिलो चरणको अन्तिम खेल जित्दै पहिलो चरणको खेल पूरा गर्न चाहन्थे ।

प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै पुलिसले तेस्रो स्थानका लागि अंकतालिकामा अग्रता लियो । यता, संकटाले भने नवौँ खेलमा पाँचौँ हार व्यहोर्दै लिग यात्रा टुङ्गायो । हारपछि संकटाले छैटौँ स्थानमा रहेर लिगको यात्रा टुङगाउने अवसर पनि गुमाउन पुग्यो । संकटा छैटौँ स्थानको बागमती युथ क्लबभन्दा तीन अंकले मात्र बढी छ । समान ९ खेलबाट बागमतीको १० अंक र संकटाको ८ अंक छ । पुलिसविरुद्ध जितले संकटा छैटौँ स्थानमा उक्लिने थियो । यद्यपि, संकटाको सुरुवात राम्रो हुन सकेन र खेलको तेस्रो मिनेटमा संकटाले अग्रता लियो ।

अनुष्का शेर्पाको गोलबाट पुलिसले अग्रता लिएको हो । सम्झना लावतीको उत्कृष्ट पासमा उनले करिब ९ यार्डनजिकबाट गोल गरेकी हुन् । उनको पहिलो प्रहार संकटाकी गोलकिपर झरना नगरकोटीले सुरुमा बचाइन् । तर, सो बल रिबाउण्ड भएपछि उनले हेडमार्फत बललाई जाली चुमाएकी हुन् । छैटौँ मिनेटमै निरु थापाको गोल गर्ने उत्कृष्ट अवसरमा संकटाकी गोलकिपर झरनाले लडाएपछि पुलिसले पेनाल्टी प्राप्त गर्यो । उक्त पेनाल्टी हान्न आएकी समीक्षा घिमिरेको पहिलो प्रहार झरनाले बचाइन् । तर झरनाले बल नियन्त्रणमा लिन भने सकिनन् र रिबाउन्ड बलमा समीक्षाले गोल गरिन् ।

त्यो गोलसँगै पुलिस २–० ले अगाडि रह्यो । त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन । दोस्रो हाफमा संकटाले खेलमा फर्कने प्रयास गर्यो । ७३औं मिनेटमा संकटाले खेलमा फर्कने अवसर पायो । पेनाल्टी बक्सभन्दा थोरै बाहिर पुलिकी पुञ्जली कुसवारले तेमिलोपे जेनिफरलाई लडाएपछि संकटाले फ्रिकिक पायो । सो अवसरमा सेलिना एनिमाले उत्कृष्ट फ्रिकिक गर्दै संकटालाई खेलमा फर्काउने संकेत गरिन् । ८८औं मिनेटमा पुलिसकी अनुस्का शेर्पा टोलीको अग्रता बढाउने अवसरमा चुकिन् ।

उनी संकटाकी गोलकिपर झरनासँग वान भर्सेस वानमा चुकेकी हुन् । यता, संकटाले पनि खेलमा फर्कन लगातार संघर्ष गरे पनि सफल हुन सकेन र हारसँगै पहिलोपल्ट सहभागी महिला लिगबाट बाहिरियो । यसअघि नै एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, वालिङ नगरपालिका र कोशी प्रदेश लिगको शीर्ष पाँच स्थानमा रहँदै सुपर लिगमा स्थान बनाउन सफल भइसकेका छन् । एन्फाले सुपर लिग आयोजनाबारे मिति तय गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका