जोडिनुहोस
  • होमपेज
  • माथिल्लो तामाकोशीमा झन्डै दुई अर्ब क्षति, मर्मत गर्न ६ महिना लाग्ने

माथिल्लो तामाकोशीमा झन्डै दुई अर्ब क्षति, मर्मत गर्न ६ महिना लाग्ने

काठमाडौं। विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीमा झन्डै दुई अर्बको क्षति भएको छ।

गत असोजमा गएको बाढीपहिरोका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा एक अर्ब ८० करोड रुपैयाँको क्षति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद गौतमले जानकारी दिए।

आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल तथा पहुँचमार्गमा समेत क्षति पुग्दा एक अर्ब ८० करोड बराबर नोक्सान भएको गौतमले बताए।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित रहेको यो आयोजनाको बाँध क्षेत्रका संरचना (हेडबर्क्स) मा ठूलो क्षति पुगेको छ।

बाँध स्थलभन्दा केही तल रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पु¥याउने भूमिगत नहर (कल्भर्ट) मा पनि क्षति पुगेको छ।

कन्ट्रोल रूम भवन र त्यहाँ रहेका उपकरण क्षतिग्रस्त भएका छन्। डिस्यान्डरमा रहेका दुइटा पोखरीमा लेदो, गेग्रान र ठुल्ठूला ढुंगा थुप्रिएका थिए। कन्ट्रोल रुम भवन, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा क्षति पुगेको थियो।

कन्ट्रोल रूपमा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो। यो आयोजनाको बिजुली उत्पादन अहिले ठप्प छ। विद्युत उत्पादन बन्द हुँदा दैनिक चार करोड रुपैयाँ आम्दानी गुमाउनु परेको प्रवर्द्धक कम्पनीले उल्लेख गरेको छ।

हाल आंशिक रूपमा उत्पादन सुरु गर्ने गरी निरन्तर काम भइरहेको सीईओ गौतमले बताए। ‘अबको बढीमा तीन हप्ताभित्र सञ्चालन गर्न काम भइरहेको छ। कम क्षति भएतर्फबाट उत्पादन गर्ने गरी काम हुँदैछ,’ गौतमले भने।

उनका अनुसार आंशिक रूपमा कति बिजुली उत्पादन गर्न सकिन्छ भनेर अहिल्यै भन्न सकिँदैन। पानीको मात्राअनुसार विद्युत उत्पादन हुने उनले बताए। आयोजनाको सम्पूर्ण मर्मत सक्न भने कम्तीमा पनि ६ महिना लाग्ने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका