जोडिनुहोस
  • होमपेज
  • साफ महिला च्याम्पियनसिपः नेपाललाई इतिहास रच्ने अवसर

साफ महिला च्याम्पियनसिपः नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं। साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ। खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ। इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ। त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा। यो गत संस्करणको फाइनलको रिप्ले पनि हो।

नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै छैटौँ पटक साफको फाइनल खेल्न लागेको हो। यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्यमा छ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कठिन विपक्षीको सामना लागि तयार रहेको बताए। कप्तान एन्जिला सुब्बा तुम्बापोले नेपाली शैलीको फुटबल खेलेरै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन्। नेपालले साफ बाहेक समग्रमा ११ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगे पनि एउटा पनि उपाधि जित्न सकेको छैन।

भर्खरै महिला लिग खेलेका र विदेशी लिगमा जमेका खेलाडी सम्मिलित नेपाली टिम उत्कृष्ट फर्ममा छ। सावित्रा भण्डारी ’साम्बा’को तीव्र रनिङ, प्रीति राईको शानदार क्रस, गीता रानाको उत्कृष्ट डिफेन्स अनि रेणुका नगरकोटीको चुस्त मिडफिल्ड चम्किए बंगलादेशलाई हराउन पर्याप्त हुन्छ।

पछिल्लो साफबाट राष्ट्रिय टिममा पुनरागमन गरेकी रेखा पौडेलसँगै दीपा शाही र हिराकुमारी भुजेल फाइनलमा नहुनु नेपालका घातक हुन सक्छ। जारी साफमा ७ गोल गरेकी रेखाले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन्।

साबिक विजेता बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७–१ गोलले पराजित गरेको थियो। कप्तान सविना खातुनले घरेलु समर्थकले भरिएको रंगशालामा युवा खेलाडीका लागि नेपाल विरुद्धको खेल चुनौती हुने भए पनि तयार रहेको बताइन्। प्रशिक्षक पिटर बटरलले ट्याक्टिक्स भन्दा पनि माहोललाई जसले नियन्त्रणमा राख्न सक्छ उसले जित हात पार्ने प्रतिक्रिया दिए।

अघिल्लो पटक दशरथ रंगशालामै बंगलादेश नेपाललाई ३–१ ले हराएर च्याम्पियन बनेको थियो। साफ महिला फुटबलको उपाधि पाँच पटक भारत र एक पटक बंगलादेशले जितेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका