खेलकुद
साउदी अरबलाई सन् २०३४ को विश्वकप आयोजनाको अधिकार दिएकोमा एमनेस्टी इन्टरनेसनलद्वारा फिफाको आलोचना

काठमाडौं। साउदी अरबलाई सन् २०३४ को फिफा पुरुष फुटबल विश्वकप आयोजना गर्ने अधिकार दिएकोमा एमनेस्टी इन्टरनेसनल लगायतका २१ वटा अधिकारवादी संस्थाले आलोचना गरेका छन् । मानवअधिकारका लागि गम्भीर खतराको क्षण भन्दै उनीहरुले फिफाको आलोचना गरेका हुन् ।
एमनेस्टी इन्टरनेसनललगायतका २१ संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा एमनेस्टीका श्रमिक अधिकार तथा खेल प्रमुख स्टिभ ककबर्नले फिफाको लापरबाहीपूर्ण निर्णयले थुप्रै मानिसको जीवनलाई जोखिममा पार्ने उल्लेख गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा साउदी मानवअधिकारवादी संस्थाहरुका साथै नेपाल र केन्याका श्रमिक समूह, अन्तर्राष्ट्रिय श्रम संगठनहरु, प्रसंशकका प्रतिनिधिका साथै वैश्विक मानवअधिकारवादी संस्था छन् ।
फिफाको समितिले विश्वकप आयोजनाका लागि साउदीलाई उच्च प्राविधिक स्कोर दिएकोमा एमनेस्टीले आश्चर्य व्यक्त गरेको छ । उसले साउदी अरबको मानवअधिकार रेकर्डलाई आश्चर्यजनक रुपमा सफाई दिएको आरोप लगाएको छ । फिफा कंग्रेसले साउदी अरबको आवेदनलाई पाँच पूर्णाङ्कमध्ये चार दशमलव दुई अंक दिएको थियो ।
साउदी अरबले आफ्नो देशमा श्रम संगठनमाथि प्रतिबन्ध लगाएको छ भने आप्रवासी कामदारका लागि न्यूनतम ज्याला पनि तोकेको छैन । यसैगरी विदेशी कामदारको प्रायोजनमा काफला प्रणाली लगाएको छ । काफला प्रणालीले आप्रवासी कामदारलाई उसको प्रायोजनकर्ता रोजगारदाताबाहेक अन्य ठाउँमा काम गर्नमा रोक लगाउँछ । सहमतिबिना देश छाड्न पनि पाइँदैन । यो व्यवस्थाले कामदारको शोषण हुने जोखिम बढाएको अधिकार समूहहरुको भनाइ छ ।
साउदी अरबले भने आफ्ना कानुनहरु राष्ट्रिय सुरक्षाको रक्षाका लागि भएको भन्दै मानवअधिकार हननका आरोपलाई अस्वीकार गर्दै आएको छ । यसअघि २०२२ को कतार विश्वकपमा पनि फिफाको निर्णयको आलोचना भएको थियो । कतार विश्वकपको संरचना निर्माणका क्रममा धेरै नेपालीले ज्यान गुमाएको बताइएको थियो । साउदी अरेबियामा पनि चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् ।































