जोडिनुहोस
  • होमपेज
  • ”दुखले सिकायो लगातार ४८ घन्टा सम्म तेलको खारमा बसेर सेलरोटी पोल्न सक्ने”

”दुखले सिकायो लगातार ४८ घन्टा सम्म तेलको खारमा बसेर सेलरोटी पोल्न सक्ने”

आज भन्दा झण्डै २/३ वर्ष पहिले “जुम्लाकी सेलरोटी दिदी सम्झना” भनेपछी सायद थाहा नपाउने कमै थिए होलान्, उनका अन्तर्वार्ताका भिडियोहरु लाखौ लाखले हेरेका थिए, उनको जस्तो कडा परिश्रम गर्ने महिला सम्भवत् विरलै भेटिन्छन् होला, अहिले पनि सामाजिक संजाल बिशेषगरी टिकटक र युट्यूवमा “जुम्लाकी सेलरोटी दिदी सम्झना” भनेर उनका भिडियोहरु हेर्न सकिन्छ र बाँकी जानकारी भिडियोहरुबाट पनि लिन सकिन्छ । आजै उनै  प्रेरणादायी दिदीको जिवनिको केहि अंश यहाँ जस्ताको तस्तै साभार गरिएको छ ।

शिक्षा: कती नि छैन, मुस्किलले नाम सम्म  लेख्न सक्छु ।

१६ बर्षको उमेरमा माघी बिबाह भयो ।

२८ वर्षमै ४ छोरी जन्मिन् , कोही मेलापातमा जन्मे त कोही ढुंगामुढामै जन्मिन्. सुत्केरी भएको भोलीपल्टै देखि सवै काम आफै गर्नु पर्थ्यो ।

गाउमा घर बनाउछु भन्दा काठ समेत निकाल्नबाट बञ्जित भए, अहिले सवैले हाई हाई गर्छन्, सम्झिरहन्छन्, वर्षमा १ चोटी गाउँ जादा सवैले धेरै माया गर्नु हुन्छ ।

त्यतिखेरै श्रीमान् प्रहरीको जागिर खान आउनु भयो, घरमा  बर्ष दिनमा एक चोटी बडो मुस्किलले बिदा जानु हुन्थ्यो, २३ बर्षमा अर्को छोरि, सधै छोरी मात्र पाइ भनेर गाउमा धेरैले अपुत्या भनेर भनेको बचन आजपनी चसक्क मनमा छुरा झै बिझ्दछन्, गाउ समाजले पनि यस्को त छोरा छैन,  बुढा प्रहरीमा मर्ने बाच्ने ठेगान छैन भन्ने सोचेर होला  धेरै विभेद तथा हेपाहा ब्यबहार गर्थे, गाउमा घर बनाउछु भन्दा पनि बनविभागबाट स्वीकृत प्राप्त गरिसकेको काठ निकाल्न समेत दिएन गाउ समाजले,  ३ वटा छोरी भएपछी श्रीमानले त भन्नु हुन्थ्यो अब हामिलाइ धेरै दुख हुन्छ बच्चा न जन्माउने कि भनेर ? तर मलाइ त्यो दुख भन्दा पनी समाजको अपुत्या भन्ने  बाणरुपी बचन बढी दुखदायी थियो, दुखै दुखमा ४ औ सन्तान  पनी छोरी नै जन्मिन्, प्रश्रब पिडामा साथ दिने कोही पनी हुन्थेन, सुत्केरी भएकै भोलिपल्ट देखि नै सवै आफैले गर्नु पर्थ्यो खाना पकाउने, कपडा धुने देखि लिएर बालबच्चाहरुलाई हेरचाह गर्ने, अझै साहिली छोरी जन्मदा त काम गर्दा गर्दै ढुङ्गामै जन्मिन् तिनी अहिले दुवहीमा पढ्दैछिन् ।

 

सुत्केरी भएको १५ दिनपछी त बनमा घास दाउरा गर्न जानु पर्थ्यो, अब यस्ले छोरा पाउदिन भनेर मेला गयो मेलामा, पधेरीमा गयो पधेरी मै प्रत्यक्ष वा अप्रत्यक्ष्य रुपमै मेरै कुरा काटिन्थ्यो, सम्झन्थे हे भगवान मैले के पाप गरे र मेरो कोखबाट सधै छोरी मात्रै जन्मन्छ, धेरै पटक मर्ने प्रयास पनी गरे तर छोरिहरुको मायाले मर्न सकिन,  नेपालको प्रहरीको जागिर बुढाको तलब बर्ष दिनभरी जम्मा गरेर बर्षमा एक पटक प्लेनमा आउने जाने भाडा , अनि घर परिवारलाइ आउदा एकसरो लत्ता कपडा ल्याउदैमा ठिक्क हुन्थ्यो, छोरा जन्माउने आशै आशामा ४ वटै छोरी जन्मिन् तिनीहरु पनि स्वास्थ्य चौकी नगइ कोही मेलापात गर्दै, कोही एक्लो कोठाको एक्लो कुनामा जन्मिन , कतिखेर के हुने हो भनेर सुत्केरी हुदा साल नाल र नाबी समेत काट्नु पर्छ भनेर ब्लेड समेत आफैले जोहो गरेर राख्थे, छोरा जन्मिदा २०७९ फाल्गुन ११ गते त ज्यादै गार्हो होला जस्तो भएपछी घरबाट आफै हिडेर जुम्ला जिल्ला अस्पताल पुगे, बेलुकी ६ बजिसकेको थियो, डाक्टर साप मलाइ भर्ना गरिदिनु पर्यो भने, डाक्टर सापले बिरामी खोइ भन्नु भो म आफै भने पछी चकित हुनु भो, भर्ना भएको १ घन्टामै छोरा जन्मियो,मेरो हर्षको आशु बर्सियो, अपुत्या हो भन्ने समाजको मुख टालियो , बल्ल पारिबारिक सुखको अनुभुती त भए जस्तो भयो तर आर्थिक दुख ज्यु का तिउ नै थियो, अझै दुःख बढ्दै थियो ।  श्रीमानको प्रहरी जवानको जागिर, बच्चाहरु ५ वटा, गार्हो को त सिमा नै थियन्,  श्रीमान् एकातिर अनि हामी ६ जना आमा छोरी गाउमा यसरी अलग अलग बस्दा खर्चले पनि धान्नै नसकेपछी जे जस्तो होला होला श्रीमान् सङ्गै काठमाण्डौमै बस्ने निर्णय गर्यौ ।  काठमाडौंमा सङ्गै बस्ने निर्णय त भयो अनि त्यहाँबाट अर्कै किसिमको दुखको शुरुवाती भयो, ५ वटै बच्चा सरकारी स्कुलमा भर्ना गर्यौ, श्रीमानको तलबले कोठा भाडा तिर्न्, महिना भरी राशन पानी पुर्याउन पनी मुस्किल हुन्थ्यो, हरेक महिना या त पसलमा उधारो बाँकी रहन्थ्यो या त साथिहरु सङ्ग सरसापट गरिरहनु हुन्थ्यो । काठमाण्डौमा आएपछी ६ महिनाको अवधिमै सबै दुखको अनुभुती भयो, धेरै बच्चा भएकोले घरबेटिले गर्ने ब्यबहार पनी फरक फरक हुन्थ्यो, बिहानको समयमा भाडामा पानी थाप्ने क्रममा कोठावालाबिच सामान्य डिस्कस हुँदा पनि घरवेटीले म भन्दा पनि अरुको सपोर्ट लिन्थे किनकी एउटै कोठामा मेरा धेरै बच्चाहरु थिए, अरुको त्यस्तो हुँदैनथ्यो घरबेटीले जस्को बुढा बुढी मात्र छन उसैको सपोर्ट गर्थे मलाइ त बरु धेरै बच्चा छन कोठा नै सार्देको भए हुन्थ्यो भन्ने जस्ता ब्यबहार हरु पनि देखियो, अव यसरी हामी काठमाण्डौमा बाच्न सक्दैनौ केहि न केहि गर्नै पर्छ भन्ने सल्लाह भएपछी मसंग भएको सुन धरौटी राखेर ५० हजार रकम अनि श्रीमानको संचयकोष ३० हजार गरेर जम्मा ८० हजारमा किराना पसल संचालन गर्‍यौ, छोरा मात्र ६ महिनाको थियो, बिहानै ३ बजे उठेर कालिमाटी गएर आलुको बोरा म अनि प्याजको बोरा श्रीमानले स्वयम्भुबाट झिसमिसे उज्यालोमा कसैले नदेख्दै थाप्लोमा नाम्लो लगाएर बोकेर ल्याउथ्यौ, बाईक स्कुटी भन्ने त त्यतिखेर कल्पना समेत थिएन, किराना पसलबाट त्यति फाईदा नहुने रहेछ, विस्तारै त्यहि किराना पसलमै सेलरोटी पोल्न शुरु गरे, मैले बनाएको सेलरोटी मन नपराउने कोही पनि भएनन्, दिन प्रतिदिन कमाई राम्रो हुदै गयो, गाउको कुनाको पसल भएपनि बाहिर बाहिरबाट अर्डर आईरहन्थ्यो, आर्थिक स्थिती अलि सुध्रिएपछी  पछाडिका २ वटा बच्चाहरु राम्रै बोर्डिङ स्कुलमै पढाए, अगाडिका ३ बच्चा भने सरकारी स्कुलमै पढैर १२ पास सम्म गरे, हाल एउटा छोरी दुवहीमा पढ्दैछिन, एउटा स्टाफनर्स पढ्दैछिन र बाबु पनि ९ कक्षामा बोर्डिङ स्कुलमा पढ्दैछन्, हिजोको दिनमा आफ्नै जिवन यापन कसरी गर्ने भन्ने म अहिले बेला बेलामा गाउबाट काठमाण्डौतिर आएका दुःखी असहायलाइ सक्दो सेवा सहयोग गरिरहेकी छु, सामान्य पढाइ लेखाइ समेत नभएपनी सबै हिसाब किताब लिखित रुपमा नसकेपनी मौखिक रुपमा गर्न सक्छु,  जहा सम्म मेरो स्वास्थ्यले साथ दिन्छ तब सम्म म मेरो कामलाइ निरन्तर दिइ रहन्छु, अहिले त झनै गर्भ महसुस गर्छु मेरो सेलरोटी नचाखेका र मन नपराएका मानिस काठमाण्डौमा सायद कमै होलान् जस्तो लाग्दछ, देश बिदेशमा कोशेलिको रुपमा जाने गरेको छ, हरेक वर्ष तिहारको बेला त म लगातार ४८ घण्टा सम्म नसुतेर सेल पोल्छु, । अरुवेला अव खासै मरेमेटी गर्दैन, तेलको खारले गर्दा अहिले स्वास्थ्यलाई पनि केहि असर गरेको छ, खोकि लागिरहन्छ जति कमाएपनी आखिर लैजाने केहि पनि होईन, आफुलाई खान, लगाउन, बस्न र विमारी भएको वेला उपचार गर्ने सम्पत्ति भए पुग्छ, अहिले म यसैमा सन्तुष्ट छु ।

 

नोटः तपाईसंग पनि जिन्दगीका यस्तै तितामिठा अनुभवहरु भएमा हामीलाई प्राप्त हुने गरी पठाउनुहोला हामी जस्ताको तस्तै साभार गरिदिनेछौ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका